राजीव गान्धी र सिएमसीबीच सम्झौता

शनिबार, माघ १४, २०७९

चितवन । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए । राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविरसमेत सञ्चालन गरिने छ । 

नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् । उनले भने, ‘अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौँ त्यहाँ राजीव गान्धीका चिकित्सक आउनुहुन्छ ।’ क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ । 

यहाँका चिकित्सक राजीव गान्धीमा गएर तालिम लिने सम्झौतामा उल्लेख छ । प्रा डा देवले भने, ‘यहाँभन्दा त्यहाँ बिरामी धेरै हुन्छन् । त्यहाँ तालिम लिँदा प्रभावकारी हुन्छ ।’ आवश्यकताअनुसार तीन महिनादेखि एक वर्षको तालिम हुनेछ । क्यान्सर बिरामीको तथ्याङ्क राख्ने काममा पनि सहयोग प्राप्त हुनेछ । डा देवले भने, ‘हाम्रो सूचना प्रविधिको जनशक्तिले त्यहाँ गएर तालिम लिनेछ ।’

सिएमसी क्यान्सर इन्स्टिच्युटको ट्युमर बोर्डको बैठकमा समेत राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत सहभागी हुनेछन् ।  सिएमसीमा कुनै पनि क्यान्सरको बिरामी आएपछि उसलाई कस्तो किसिमको उपचार कसरी सुरु गर्ने भन्ने विशेषज्ञको समूहमा छलफल हुने गर्दछ । यस्ता छलफलमा राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत अडियो भिजुअलमा सहभागी हुनेछन् । प्रा डा देवले भने, ‘उहाँहरुले छलफलमा विज्ञको राय दिनुहुन्छ ।’
 
चितवन मेडिकल कलेजले एक सय शय्याको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ सञ्चालनमा ल्याएको छ । इन्स्टिच्युटको बिहिबार उद्घाटन गरिएको छ । इन्स्टिच्युटमा मस्तिष्कमा रहेको ट्युमर, घाँटी तथा टाउकोसम्बन्धी, फोक्सो, स्तन, पेट, कलेजो, पाठेघरको मुख र गर्भाशय, मूत्रासय र अन्य क्यान्सरको उपचार सुरु गरिएको छ । 

जिल्लामा एशियाकै नमूना क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसमेत छ । बिरामीकोे चापका कारण यहाँ पालो नपाएका बिरामी अहिले पनि भारतसहित अन्य देश जान बाध्य छन् । सरकारी दर रेटमा नै सिएमसीले क्यान्सरको उपचार थालेको छ । सरकारले दिने सहुलियतसमेत यस अस्पतालमा पाइन्छ । 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्