राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमतिको प्रयास गर्ने

शुक्रबार, माघ १३, २०७९

काठमाडाैँ- नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय गरेको छ । 

बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति गरेर राष्ट्रपति चयन गर्ने निर्णय गरेको हो ।

कांग्रेसलाई पनि विश्वासमा लिएर राष्ट्रिय सहमतिको वातावरण बनाउने जिम्मेवारी माओवादीको भएकोबारे पनि बैठकमा छलफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा आवाज आएको छ । बैठकमा सहभागी अधिकांश नेताहरुले राष्ट्रपतिका लागि साझा व्यक्ति आवश्यक पर्ने बताउनु भएको छ ।’

उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए ।

उनले त्यो राष्ट्रिय सहमति नेकपा एमालेसहितको हुने पनि बताए । 

उनले अहिले नै राष्ट्रपतिमा कसलाई सघाउने भन्ने टुंगो नभएको उनले बताए । 

‘चुनावका बेला उम्मेदवारबारेको सिन क्लियर हुन्छ’, उनले भने, यसका लागि राष्ट्रिय सहमति कायम गर्न खोज्ने दिशामा छौँ । त्यसका लागि अरु पार्टीसँग पनि हामी छलफल गर्छौँ ।’

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्