प्रभु बैंकको सिइओमा पुनः शेरचनलाई नै निरन्तरता

बिहीबार, माघ १२, २०७९

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी पुनः अशोक शेरचनलाई दिइएको छ । 

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । 

शेरचनले आफ्नो दोस्रो कार्यकालमा २ साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि सञ्चालक समितिले तेस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । उनी २०७५ माघ १८ गते बैंकको सिइओमा नियुक्त भएका थिए ।

उनकोको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई मर्ज गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका उनी तत्कालिन सिइओ कुमार लम्सालले राजीनामा दिएपछि सीइओमा नियुक्त भएका हुन् । उनको व्यवस्थापकीय नेतृत्वमा प्रभु बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएको अध्यक्ष सिटौलाकाे भनाइ छ ।

अध्यक्ष सिटौलाका अनुसार २०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । सोही वर्ष कात्तिकमा सीइओ कुमार लम्सालले छाडेपछि कार्यवाहक सिइओको जिम्मेवारी शेरचनले पाएका थिए ।

सिइओको जिम्मेवारी पाएकै वर्ष उनकै नेतृत्वमा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो । साथै,  खारेजीमा गएको नेपाल विकास बैंकलाई समेत आफूमा समाहित गरेको थियो । त्यसयता निरन्तर उनले सिइओको जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै, रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २२:०८
प्रतिक्रिया दिनुहोस्