भन्सार चुहावट रोक्न सरकार निर्मम बन्छ : अर्थमन्त्री

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । 

७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार बिभागले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।

भन्सार बिन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजार सोही वस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उनले बताए । 

वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरे ।

राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिने गरिएको भन्दै अर्थमन्त्री पौडेलले कुनै पनि तर्कले राजस्व संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा राखे । 

राजस्व परिचालन क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेट्टाउने काम गर्न उनले निर्देशनसमेत दिए । 

उनले भन्सार क्षेत्रलाई थप आधुनिकीकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए । 
अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्