भारत–नेपाल स्टार्टअफ कनेक्टको आयोजना

बुधबार, माघ ११, २०७९

काठमाडौं । भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना ग¥यो । 

भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीता बारे चर्चा गरे । वित्तीय समावेशीकरण र स्टार्टअपमा ‘जनधन योजना, आधार तथा मोबाइल नम्बर’ जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि उनले चर्चा गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर एवम् महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९÷०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बताए । अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा गभर्नर अधिकारीले जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरहरु विषयमा प्रस्तुति दिएका थिए । यस्तै, स्टार्टअप इन्डियाका अनुभवकुमार दासले स्टार्टअप इन्डिया स्किम विषयमा प्रस्तुती दिएका थिए ।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४ हजार २ सयभन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारेमा पेनियरबाईका प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिएका थिए ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले फ्लिपकार्डसँगको सहकार्यबारे जानकारी दिएका थिए । यस्तै, एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोनपे र इसेवा भुक्तानी सेवाहरुबारे जानकारी दिए । टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुती दिए । भारतीय फिनटेक कम्पनी लिभरेजइडुका अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे गराए ।

दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । टिम भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टम बारे जानकारी दिए । भारतका प्रोजेक्ट एण्ड स्टार्टअफस्, इन्टरनेट एण्ड मोबाइल एसोसिएसनका अध्यक्ष सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम मोबाइल टेनएक्स बारे विस्तृत जानकारी दिए ।

कार्यक्रममा भर्चुअल सहभागिता जनाएका हैदरावाद एन्जेल्सका प्रमुख कार्यकारी अधिकृत रत्नाकर सामवेदमले थबको विशेष पीपीपी मोडलबारे बताए । उनले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानता बारे पनि जानकारी गराए । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिइयो । 

भारत–नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्नका लागि भारतीय दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गराएको छ । दुतावासले शैक्षिक संस्थाहरु, स्टार्टअपहरु र लगानीकर्ताहरु लगायत नेपालका सबै सरोकारवालाहरुलाई स्टार्टअप इन्डिया मार्फत भारतीय स्टार्टअपहरु र यसमा आबद्धमा सबैसँग जोडिन प्रोत्साहित गर्ने जानकारी गराएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्