नेभिगेशन
समाचार

बाग्मतीमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा –बाग्मती प्रदेशमा सरकार विस्तार भएको छ । नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सरकार विस्तार भएको हो ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका ८ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री जम्मकट्टेलले गठन गरेको अध्ययन कार्यदल समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न दिएको सुझावअनुसार ११ मन्त्रालय राख्ने निर्णय भएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ ।

विस्तारमा सत्तारुढ गठबन्धनको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४, नेकपा एमालेले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ मन्त्री पाएको छ । 

माओवादीले यसअघि नै मुख्यमन्त्री पाइसकेको छ भने एमालेबाट पनि दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै अर्थमन्त्रीको शपथग्रहण गरिसकेका थिए ।

त्यसैगरी राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री बनेका थिए । थापाले बुधबार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाबाट अरु २ जना मन्त्री बनेका छन् ।

बुधबार माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकासमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । 

एमालेबाट केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र एकालाल श्रेष्ठ रोजगार तथा यातायातमन्त्री बनेका छन् ।

राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरणमन्त्री बनेका हुन् । योसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार