डिजिटल अर्थतन्त्र निर्माणमा अगाडि बढ्ने इसेवाको प्रतिबद्धता

बुधबार, माघ ११, २०७९

काठमाडौँ–नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ‘इसेवा’१४ वर्ष पुरा गरेर १५ औँ वर्षमाप्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४वर्ष पार गरेको हो । पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिष्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताए ।

इसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि जानकारी गराउने इसेवाको भनाइ छ ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान दिएको जनाएको छ ।

१४वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७०लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ८५हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० भन्दा धेरै बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्