कचनकवलको चिया बगानमा दोस्रो पटक झुन्डिएर सामूहिक आत्महत्या

९ महिनामा १३ जनाले लिए आफ्नै ज्यान
बुधबार, माघ ११, २०७९

काठमाडौँ–झापाको कचनकवल गाउँपालिका –४ मा एक जोडीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । 

मंगलबार राति कचनकवल– ४ खुट्टामुनिका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

कचनकवल– ४ स्थित एभरेष्ट टी गार्डेन भित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

गत साउनमा ३ जना युवती सामूहिक रुपमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिकामा फेरि यस्तो घटना भएको उपाध्यक्ष भट्टराईको भनाइ छ ।

उपाध्यक्ष भट्टराईका अनुसार करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्वीकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गर्दा परिवारिक तनाव उत्पन्न भएको थियो । 

केटीको बुबाले प्रहरीमा केटाविरुद्ध प्रहरीमा उजुरी हालेका थिए । मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै आएको थिए । 

यसअघि गत साउनमा सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल– ५ पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना थिए । 

कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर उनीहरूले अत्माहत्या गरेका थिए । उनीहरू के कारणले सामूहिक आत्महत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन । 

कचनकवल गाउँपालिकामा गत असार महिनायता १३ जनाले आत्महत्या गरेका छन् । १३ जनामध्ये २ वटा सामूहिक आत्महत्या भएको छ । यो गाउँपालिकामा आत्महत्याका घटना बढेसँगै समाजमा त्रास पनि फैलिएको उपाध्यक्ष भट्टराईले बताए । 

गाउँपालिकाले आत्महत्याका विषयमा सचेतना कार्यक्तम गरे पनि सामान्य विषयमा पनि आत्महत्या गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ । 

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार