निगमको जहाज आउँदा खुसी हुन्थेँ, फर्केर जाँदा रुन्थेँः पर्यटनमन्त्री किराती [भिडियाे]

सोमबार, माघ ९, २०७९

काठमाडौँ– ‘लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक भए। 

भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाडाँ काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बनेका हुन् । 

निगमका कर्मचारी र  सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भने, ‘जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।’

शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत–जावतले निकै रुवाउँथ्यो । उनले भने, ‘मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।’

भोजपुरको ओख्रेमा जन्मिएका पर्यटनमन्त्री किरातीका बुबा हर्कबहादुर राई ब्रिटिस लाहुरे हुँदा बुबाको कर्मथलो हङकङमा जन्मेर ब्रुनाइमा हुर्किए। लाहुरेको छोरा बाल्यकालमा कुनै चीजमा कमी थिएन । सुविधासम्पन्न मुलुकमा हुर्केको व्यक्ति एकैचोटि दुर्गम गाउँमा ओर्लँदा किरातीलाई अनौठो लाग्नु स्वाभाविक थियो ।

मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताए । उनले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाए। ‘अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु’, उनले भने ।

 

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री किरातीले यो वा त्यो पदमा पुग्छु भनेर राजनीति पनि गरेनन् । तर, समय र परिस्थितिले मन्त्रीको जिम्मेवारी स्वीकारेका छन् । उनी भन्छन्, ‘वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।’

 

राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताए । उनले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे। अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।

 

‘कालो हातले छुने कोसिस नगर्नूहोला’

मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका किरातीले देशको शान र गौरव ध्वजावाहक वायुसेवा निगमलाई गौरव गर्न लायक बनाइने विश्वास व्यक्त गरे । ‘किन हामी वायुसेवा निगममाथि गौरव गर्छौँ, जसले ४० हजार फिटमाथि राष्ट्रिय झन्डा फहराएर विश्वमा पहिचान कायम गरेको छ । विमानस्थल हाम्रो अनुहार हो, जहाज हाम्रो गौरव हो । पहिलो नजर अनुहारमा जाने भएकाले अब यो राम्रो हुनुपर्छ’, पर्यटनमन्त्रीले भने ।

 

निगम मुख्यालय र बैठक कक्ष हेर्दा दयनीय अवस्था रहेको मन्त्री किरातीले उल्लेख गरे । उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस कसैले नगर्नूहोला । सुनेको छु, कालो हातले छोएर नचिनिने भएर मान्छे फर्किन्छन् रे यहाँ । मैले त फेरि चिनिएर फर्किनु छ ।’


‘हामीलाई असफल हुने छुटै छैन’

पर्यटनमन्त्री किरातीले आफूहरू गाडीको ‘स्टार्ट’ गर्नुपहिला पहिला चेकजाँच गर्ने क्रममा रहेको भन्दै छिट्टै स्टार्ट हुने गर्छौँ, हाम्रो उद्देश्य एउटै हो निगम बनाउने । उनले भने, ‘निगम असफल बनाउने छुट मसँग छैन । र त्यो समय, परिस्थिति र सन्दर्भले पनि दिँदैन । मलाई विश्वास छ, निगम व्यवस्थापनले सुधारको काम गर्नेछ ।’
   

 

निगमको ‘बिजनेस प्लान’ चाहियो   

पर्यटनमन्त्री किरातीले प्रत्येक दिन निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन दिए । ‘कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु’, उनले भने ।

 

‘समस्या हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगाको टाउको जत्रो’ भएपछि निगम कसरी सुधार हुन्छ भनी प्रतिप्रश्न गर्दै मन्त्री किरातीले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिए। उनले कुनै काम प्रलोभनमा पार्न जुत्ता फटाउने काम नगर्न पनि आग्रह गरे ।

 

एक महिनाभित्र अनलाइन टिकट

‘सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको’ भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए । उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे।

 

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

 

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिए । उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे। ‘हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ’, सचिव अधिकारीले भने । उनले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पारे।

 

आन्तरिक उडानमा जहाज खरिद गर्छौँः अध्यक्ष अधिकारी

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनसाथ निगमलाई आवश्यक आन्तरिक उडानका जहाज खरिद प्रक्रिया अघि बढाइने बताए ।

 

निगमको आन्तरिक स्रोतले नै दुई–तीनवटा विमान खरिद गर्न सकिने भन्दै उनले सरकारको निर्देशन प्राप्त हुनासाथ विमान खरिद प्रक्रिया अघि बढाइने बताए। छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा बुझाउने बताए । राष्ट्रिय ध्वजावाहकले नाफाभन्दा पनि जनताको सेवालाई प्राथमिकता दिएर उडान सञ्चालन गरिरहेको बताए ।

भिडियाे हेर्नुस्

–रासस

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार