२० वर्षमै हृदयघात ? कतिपय अवस्थामा थाहै पाइँदैन ‘अट्याक’

शनिबार, पुस ३०, २०७९

काठमाडौँ– नेपालमा हृदयघातका कारण मुत्यृ हुनेको संख्या बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार २० वर्षका युवाहरूमा पनि हृदयघात हुने गरेको मुटु रोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजू बताउँछन् ।

 

पहिले प्रायः ४० देखि ५० वर्षका मानिसमा हृदयघातको समस्या हुने गरेको भए पनि हाल सानै उमेर समूहमा यो समस्या देखिन थालेको छ । धूमपान, अस्वस्थ खानपान, अल्छीपना आदि कारणले युवा अवस्थादेखि नै हृदयघातका केसहरू बढेको डाक्टर कोजूको भनाइ छ ।

 

हृदयघात अर्थात् हार्ट अट्याक भनेको मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेसीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो ।

 

मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने स–साना धमनीमा अवरोध भएर हुने हृदयघात कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ । तर ठुलो धमनीमा अवरोध भएमा छातीको बीच वा देब्रेतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाकी लाग्ने र बेहोस पनि हुन सक्ने डाक्टर कोजू बताउँछन् ।

 

उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमै नियन्त्रणमा राख्न सकेमा हृदयघातको जोखिम कम हुन्छ ।

 

 

मोटोपन कम गर्ने, नियमित व्यायाम गर्ने, मानसिक तनाव हुन नदिने, जीवनशैलीमा सुधार ल्याउने हो भने समयमै यो रोगलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । 

 

हृदयघात हुनुअघि यसको साधारण लक्षण मात्र हुन्छ । जब व्यायाम गर्दा, उकालो चढ्दा, भ¥याङ उक्लिँदा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देब्रेतिर भारी हुने, ढुंगाले थिचे जस्तो लक्षण देखापरेमा तुरुन्त मुटुरोग विशेषज्ञको परामर्श लिनुपर्ने उनको सुझाव छ । 

 

अधिकांश मानिस यसलाई सामान्य सोचेर घरमै बसिरहन्छन् तर यो हृदयघातको लक्षण हुन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्ने उनी बताउँछन् । हृदयघात भइसकेपछि उपचार सहज नहुने उनको भनाइ छ । 

 

त्यस्तै महिलामा भन्दा पुरुषलाई बढी हृदयघात हुने गर्छ । केही महिलालाई महिनावारी हुन बन्द भएपछि पुरुषलाई जस्तै हृदयघात हुने गर्छ । कोजूका अनुसार हृदयघात वंशाणुगत पनि हुन्छ । 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार