सङ्घीय सरकारको आयोजना नगरपालिकाद्वारा अस्वीकार

बुधबार, मंसिर १४, २०७९

दैलेख–दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले सङ्घ सरकारको सहयोग अस्वीकार गरेको छ । सङ्घीय सरकारमार्फत आएको झन्डै ३४ करोड रुपैयाँबराबरको आयोजना कार्यान्वयन नगर्ने निर्णय नगरपालिकाले गरेको छ । 


विन्द्रासैनी–जम्बुकाँध लिफ्ट खानेपानी आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतले सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । तर नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै सो लिफ्ट खानेपानी आयोजनाभन्दा मजुवा खानेपानी आयोजना सञ्चालन भए दीर्घकालीन हुने भएकाले सो योजना हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।


प्रमुख गणेशकुमार शाहीले योजना दिगो हुने नदेखेपछि कार्यान्वयन नगर्ने निर्णयमा पुगेको बताए । ‘यसअघिका जम्बुकाँध, कर्णाली र रोशनी डाँडा गरी तीनवटा लिफ्टङ खानेपानी योजनाहरू पूर्णरूपमा असफल भइसकेका छन्। यो चौथो लिफ्टिङ खानेपानी योजना पनि दिगो हुँदैन् । अव्यावहारिक, असाध्यै महँगो जनताको आयस्रोत र जीवनस्तरले धान्न नसक्ने भएकाले योजना कार्यान्वयन नगर्ने भनिएको हो’, प्रमुख शाहीले भने ।


क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा झन्डै साढे ३ करोड रुपैयाँ बराबर बजेट विनियोजन भएको छ । डीपीआर सकेर निर्माणको काम अघि बढ्नै लागेको बेला नगरले योजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।


यो आयोजना खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतबाट डीपीआर सकेर टेन्डर प्रक्रियामा गएको थियो । चामुण्डाविन्द्रासैनी–५ देखि ९ वडासम्मका लागि आयोजना अघि सारिएको थियो । जलवायू अनुकूलित वृहत खानेपानी आयोजनाका रूपमा रहेको विन्द्रासैनी–जम्बुकाँध लिफ्ट खानेपानी आयोजना सङ्घीय सरकारले क्रमागतमा राखेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्