नेभिगेशन
विज्ञान प्रविधि

इलाका प्रशासन कार्यालय टीकापुरको भवन निर्माण सम्पन्न

कैलाली–इलाका प्रशासन कार्यालय टीकापुरको भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मेवारी पाएको नागार्जुन कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयभन्दा ३ महिना अघि नै निर्माण सम्पन्न गरेको हो । निर्माण कम्पनीले भवन निर्माणको काम ७ असोज २०७९ मा सम्पन्न गरेको छ । निर्माण कम्पनीले निर्धारित समय अगावै काम सके वापत बोनस समेत प्राप्त गरेको छ । निर्माण कम्पनीका सञ्चालक दलबहादुर साउँदले १ सय ८ दिन वापतको बोनस प्राप्त गरेको बताए । ३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको बिहीबार नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरे । इलाका प्रशासन कार्यालय टीकापुर अहिलेसम्म भाडाको भवनमा सञ्चालित थियो । संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्काले जानकारी दिए । कार्यालयले जिल्लाका ३ नगरपालिका र २ गाउँपालिका गरी ५ वटा पालिकाका ३ लाख १५ हजार जनससंख्यालाई सेवा दिँदै आएको छ । हाल कार्यालयमा उपसचिवको नेतृत्वमा ११ जना कर्मचारी मात्रै कार्यरत छन् । जसले सेवाग्राहीको काम समयमै सम्पादन गर्न कठिनाई हुने गरेको छ । कार्यालय प्रमुख खड्काले दैनिक ६० वटा नयाँ नागरिकता र ४० जति नागरिकताको प्रतिलिपि बनाउने गरेको जानकारी दिए । उनले राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका अन्य काम समेत प्रभावित हुने गरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्