नेभिगेशन
समाचार

कांग्रेस महामन्त्री शर्मा भन्छन् – पार्टी लाई रुपान्तरण गर्न आवश्यक छ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यकता रहेको बताए । आज सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताएका छन् । उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए ।

उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए । उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए ।

उनले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ ।’

वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ। एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरुलाई पनि समीक्षा गर्नुपर्छ ।

नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’

महामन्त्री शर्माले नेपाली काँग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए। उनले नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात घोषणा गरे ।

उनले भने ‘नेपाली काँग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरु जे भएपनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार