नेभिगेशन
जीवनयापन

आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन : गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका छन्। उनले कुनै ठाउँबाट आउँदो चुनावका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरे । महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने बताए । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गरे । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताए । उनले भने, ‘नायनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु ।’ महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै