नेभिगेशन
जीवनयापन

राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ: गृहमन्त्री खाण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले राज्य कोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन् शतप्रतिशत सदुपयोग हुनुपर्छ । ” सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले भने, “छट्याएको रकम सही समयमा सदुपयोग हुन सकोस्, आर्थिक पद्धति र प्रक्रिया छ, कतिपय ठाउँमा सार्वजनिक खरिद ऐन आकर्षित हुन्छ, तसर्थ प्रचलित कानुनअनुसार खर्च हुन सकोस् ।” मुलुकमा विपद् व्यवस्थापनका लागि एकातर्फ रकमको अभाव हुँदै आएको र भएको रकम खर्च गर्न समयमै प्रबन्ध हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले थपे, “त्यो काम गर्न सकियोस्, भन्ने चाहना सरकारको छ ।” गृहमन्त्री खाणले यसपालिबाट जहाँ विपद् छ, त्यहीको स्थानीय पालिकालाई अगुवाइ गर्ने र माथिबाट प्राविधिक सहयोग पुर्‍याउने गरी कार्य अघि बढाएको जानकारी गराउँदै त्यस कार्यमा समन्वय हुन सकोस् भन्ने सरकारको धारणा रहेको बताए । सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको जानकारी गराए । नेपाल विपद्को उच्च जोखिममा रहे पनि प्रारम्भिक अवस्थामा त्यसको न्यूनीकरण, रोकथाम तथा क्षति भए कसरी व्यवस्थापन गर्ने भन्नेमा सबै निकायले गम्भीरतापूर्वक काम गरेको आफूले पाएको उनले बताए । सुरक्षा निकाय तथा सम्बन्ध अधिकारीको क्रियाशीलताले उद्धार कार्य प्रभावकारी भएको आफूले पाएको पनि उनले बताए । मुलुकका विभिन्न क्षेत्रमा गत वर्ष पनि उच्च वर्षाका कारण नागरिकले नोक्सानी बेहोरेको र यो वर्ष पनि केही भूभागमा क्षति पुर्‍याएको स्मरण गरे । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विविध विषयमा प्रस्ताव पेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै