नेभिगेशन
जीवनयापन

ओलीको दाबीः एमाले एक्लैले १५० सिट जित्छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। बुधबार कञ्चनपुर पुगेका ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गरेका हुन्। ओलीले भने, ‘यो गठबन्धन आफैँ बनेको होइन अरू कसैले टाउको जोडिदिएको हो। उनीहरू आफैँ जुटेका पनि होइनन् आफैँ फुट्दैनन्। तर, हामीले आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’ उनले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने दाबी गरे। गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको उनको भनाइ छ। गठबन्धनको फुर्ति मंसिर ४ सम्म मात्र रहेको उनको दाबी छ। यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाए। महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग कुरा गर्न नसकेको आरोप लगाए। लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको उनको भनाइ छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्