नेभिगेशन
जीवनयापन

रत्नपार्कमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा मङ्गलवारबाट विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । चार्जिङ स्टेसनको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गर्नु भएको छ । विद्युत् खपत प्रवद्र्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरूमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरूको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको छ । २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा सीसीएस (साना ठूला कारहरू) चार्जरहरु रहेका छन् । जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर)प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने छ । हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी प्लस, २२ किलोवाट एसी रहेको छ । यद्यपि १२० किलोवाट डिसीसम्म पनि सिङ्गल डिसी गनले गाडीहरू चार्ज गर्न सक्ने छ । प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ । चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएबापत महसुल दरमा प्रति किलोवाट घण्टा(युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था रहेको छ । यस अधि नेपाल विद्युत् प्राधिकरण र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बीच छुट्टा छुट्टै सम्झौता भई विद्युतीय चार्जिङ्ग स्टेशन निर्माण तथा सञ्चालन गर्ने सम्बन्धमा सहमति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै