नेभिगेशन
जीवनयापन

मकवानपुरमा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर - मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो । अघिल्लो आवमा दुई सय ८६ वटा उजुरी परेकामा गत आवमा चार सय ३९ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको हो । अघिल्लो आवमा परेका उजुरीमध्ये एक सय ८६ वटा उजुरीको मिलापत्र गराइएकोे थियो भने ५० वटा मुद्दा अदालतमा गएको थियो । त्यस्तै गत आर्थिक वर्षमा घरेलु हिंसाका चार सय ३९ वटा उजुरी परेकामा दुई सय ६० वटा उजुरीको मिलापत्र गराइएको ६१ वटा उजुरी अदालतमा मुद्दाका रूपमा गएको र एक सय १८ वटा उजुरीको छिनोफानो भइरेको छ । आव २०७८/७९ को साउन महिनामा ३८, भदौमा ४४, असोजमा ३३, कात्तिकमा ३७, मंसिरमा ३४, पुसमा ३६, माघमा २४, फागुनमा ३१, चैतमा ३९, वैशाखमा ३६, जेठमा ४५ र असारमा ४२ घरेलु हिंसासम्बन्धी उजुरी परेको र तीमध्ये अधिकांश अधिकारका लागि परेको सो कार्यालयले जनाएको छ । विगतमा सामाजिक तथा परिवारिक डर, त्रास र भयका कारण न्यायका लागि महिला प्रहरी र अदालतमा जान डराउँथे तर अहिले चेतना अभिवृद्धि भएसँगै महिला पनि न्यायका लागि नगरपालिकादेखि अदालतसम्म धाउन थालेपछि उजुरीको संख्या बढ्दै गएको हो । यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले महिलामाथि हिंसा कतैबाट हुुन नहुनेमा जोड दिँदै अधिकार नपाएमा उनीहरुले उजुरी गर्नुु स्वाभाविक भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्