नेभिगेशन
जीवनयापन

एनआईसी एशिया बैंक बझाङमा कार्यरत कर्मचारी मृत फेला परेपछि मृतकका आफन्तद्वारा बैंक तोडफोड

काठमाडौँ– एनआईसी एशिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका वर्ष ५२ का रोहित थापा रहेका छन् । उनी सोही बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । मृतक थापाका आफन्त रतन थापाका अनुसार उनी भदौ ३ गतेदेखि कसैको सम्पर्कमा थिएनन् । तर, बुधबार जिल्लाको केदारस्युँ गाउँपालिका १ को चौडाम बगरनजिकै सेती नदीमा उनी मृत अवस्थामा फेला परेका थिए । थापा करिब ३ वर्षदेखि एनआईसी एसिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् । भदौ ३ गते साँझ ६ बजेपछि अफिसबाट बिदा भएपछि उनी सम्पर्कविहीन भएको बुझिएको छ । बिहीबार मृतक थापाका आफन्तले बैंकविरुद्ध नारा लगाउँदै बेपत्ता भएको एक हप्तासम्म पनि आफूहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा ढंगामुढा गरेका छन् । बुधबार दिउँसोदेखि बैंकको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । बैंक असुरक्षित भएको भन्दै केही दिन प्रहरीको सुरक्षा रहने डिएसपी जागेश्वर भण्डारीले बताए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए। मृतक थापाका आफन्तले भने दोषी पत्ता लगाएर कारबाही नहुन्जेल शव नबुझ्ने बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्