नेभिगेशन
जीवनयापन

शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार

सोलुखुम्बु– विगत लामो समयदेखि सोलुखुम्बुको शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था रीड नेपालले सोलुदूधकुण्ड नगरपालिकामा शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार पारेको छ । शैक्षिक क्षेत्रमा भैपरी आउने विपद्को व्यवस्थापन कार्ययोजना तयार पारेको रीड नेपालका संयोजक केशवदेव गिरीले जानकारी दिए। ३० पृष्ठको योजनामा प्रकोपको अवस्था र जोखिम विश्लेषण, प्रकोपको आधारमा विद्यालयको जोखिम विश्लेषण, प्रकोपका कारण विद्यालयमा हुन सक्ने क्षतिको पूर्वानुमान, विपद्ले सिर्जना गर्न सक्ने तत्कालीन सामाजिक सवालहरू, विपद्को जोखिमलाई न्यूनीकरण गर्न कार्यान्वयन गर्नुपर्ने गतिविधिहरू, विपद् प्रतिकार्य कार्ययोजनाहरु, समन्वय र सञ्चार व्यवस्थापन, सहयोगी संस्थाहरूको विवरण लगायतका विषयहरू समेटिएको छ । विपद् व्यवस्थापन कार्य योजनालाई पूर्णता दिन नगर शिक्षा शाखा प्रमुख गोपालराज भुजेलको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरूमा केशवदेव गिरी, तिलकबहादुर राई, रिता ढुङ्गाना र ल्हाक्पागेलु शेर्पा रहेका छन् । कार्य योजनालाई सफल कार्यान्वयन गराउन तयार गरिएको निर्णय पुस्तिका लिँदै सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले नगर क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धिका लागि रीड नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै कार्ययोजना कार्यान्वयनमा नगरपालिका तयार रहेको बताए । शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले विपद्का कारण शैक्षिक क्षेत्रमा पर्न सक्ने असरलाई कम गराउन योजनाले सहयोग गर्ने धारणा राखे । कार्ययोजना तयार गर्ने क्रममा रीड नेपालका विपत् जोखिम न्यूनीकरण टिम लिडर रामनाथ ओझा, विपत् जोखिम न्यूनीकरणका प्रशिक्षक उत्सव बोगटी सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, वडा अध्यक्षहरू, पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, महिला तथा बालबालिका शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । रीडले यस्तो कार्य योजना सबै पालिकामा गर्ने जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै