नेभिगेशन
जीवनयापन

वीरगञ्ज महानगरका मेयर सिंहद्वारा प्राधिकरण प्रमुख घिसिङसँग छलफल

वीरगञ्ज– वीरगञ्ज क्षेत्रमा विगत केही समयदेखि अनियमित रुपमा हुने गरेको लोडसेडिङ अन्त्यको माग गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । मेयर सिंहले प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौँमा कार्यकारी निर्देशक घिसिङसँग भेट गरी उत्पन्न समस्याको बारेमा ध्यानाकर्षण गराएका हुन् । मेयर सिंहले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाई पनि सँगै राखेर वीरगञ्जमा उत्पन्न विद्युतसम्बन्धी सबै किसिमका समस्याको समाधान गर्न प्रमुख कार्यकारी अधिकृत घिसिङसँग छलफल गरेका हुन्। अनियमित रुपमा हुने विद्युत् कटौतीको अन्त्य गर्नुपर्ने, सडक बत्ती व्यवस्थापनका लागि फिफ्थ वायर जडान गर्नुपर्ने, वीरगञ्ज महानगरमा भूमिगत तार व्यवस्थापन गर्नुपर्ने र पानीटंकी क्षेत्रको घरमाथिको हाईटेन्सन लाइन स्थानान्तरण गर्ने बारेमा मेयर सिंहले घिसिङको ध्यानाकर्षण गराएका थिए । वीरगञ्ज बाइपास क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुका साथै वीरगञ्ज महानगर क्षेत्रको नाङ्गो तारलाई विस्थापित गरेर केबल वायर जडान गर्नुपर्ने विषयमा आफूले घिसिङसँग छलफल गरेको मेयर सिंहले बताए । नगर प्रमुख सिंहले उठाएका समस्याहरूको समाधानका लागि यथाशीघ्र प्रक्रियामा लैजान प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिएको मेयर सिंहले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै