नेभिगेशन
जीवनयापन

हतियार कारोबारको आरोपमा दुई थान पेस्तोलसहित दुई जना पक्राउ

मोरङ- सशस्त्र प्रहरीले मोरङबाट दुई थान पेस्तोलसहित हतियार कारोबारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार सुनवर्षी नगरपालिका-८ हसनगढीका २८ वर्षीय आरिफ मियाँ आलम र उर्लाबारी नगरपालिका-६ तरुण चोकका २९ वर्षीय नवीन धिमाललाई आइतबार साँझ पक्राउ गरिएको हो । शुरुमा आलम पक्राउ परेका थिए । भारतबाट को २७ प ४०६ नम्बरको मोटरसाइकलमा नेपालतिर आउँदै गरेको अवस्थामा उनलाई साँझ ५ बजेतिर पक्राउ गरिएको एसपी लामिछानेको भनाइ छ । उनका अनुसार ड्युटीमा खटिएका सशस्त्रले सुनवर्षी-८ खरेबारीबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, म्यागजीन र एक राउण्ड गोली तथा एउटा सिक्सर पेस्तोल बरामद भएको हो । आलमलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले उक्त हतियार धिमालले आफूसँग मगाएको बताएका थिए । त्यसपछि परिचालित सशस्त्रको टोलीले रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट धिमाललाई पक्राउ गरेको हो । एसपी लामिछानेका अनुसार को २२ प ६७०७ नम्बरको मोटरसाइकल र ४७ हजार सात सय ७० रूपैयाँसहित राति ८ बजेतिर धिमाल पक्राउ परेका हुन् । पक्राउ परेकालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । दुवै जनाविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने नेपाल प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरु हतियारका कारोबारी भएको पत्ता लागेको छ । ‘आलम भारतबाट नेपालतिर हतियार भित्राउने धन्दामा संलग्न रहेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘आलमले भारतबाट भित्राएर उपलब्ध गराएको हतियार खरिद गर्दै धिमालले भने अरुलाई बिक्री गर्ने गरेको खुलेको छ ।’ दुवै जनाको मिलेमतोमा अहिलेसम्म कति हतियार नेपाल भित्राइएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै