नेभिगेशन
जीवनयापन

इन्द्रावती नदीले खेत कटान

काभ्रेपलाञ्चोक–इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो । स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पु¥याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए । उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए । उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक प्रेमबहादुर लामाले बताए । अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ । माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए । गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जमिन संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण गराए पनि कुनै चासो नदिएको लामाले बताए । ‘हामी पीडितले खेत जोगाउनुपर्‍यो भनेर गत सालदेखि नै जनप्रतिनिधिलाई पटक–पटक भन्यौँ, तर वास्ता गरिएन’, उनले भने । नगर उपप्रमुख विष्णुमणि नेपालले नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि नगरको बजेटले नपुग्ने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्नुपर्ने बताए । उनले इन्द्रावती नदीले वर्षैपिच्छे खेतीयोग्य जमिनसँगै अन्य जमिन कटान गर्दा माझी बस्तीसमेत जोखिममा परेको बताए । उनले भने ‘मण्डनमा नदीले कटान गरिरहेको ठूलो समस्या बनेको छ, योजना बनाएरै लाग्दैछौँ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्