नेभिगेशन
जीवनयापन

मन्थली नगरपालिकाभित्र निर्माणाधीन संरचनाको कमिशन लिने प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

काठमाडौँ– रामेछापको मन्थली नगरपालिकाका भित्र निर्माणाधीन सड्क, भवन र मन्दिर भवनबाट उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कमिशन लिने गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल विरुद्ध अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नगरपालिकाको गाडी मर्मत र इन्धन शीर्षकमा पनि उनले नक्कली बिल बनाउने र फर्निचर र स्टेशनरी खरिदमा पनि अनियमितता गरेको उजुरीकर्ताले दाबी गरेका छन् । मन्थली माध्यमिक विद्यालयसँग मिलेर पौडेलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट मासिक शुल्कको नाममा रकम असुल गरेर नि:शुल्क पढ्न पाउने विद्यार्थीको अधिकार हनन गरेर कमिशन लिने गरेको उजुरीमा उल्लेख छ । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ । नगरपालिकाबाट मन्थली माध्यमिक विद्यालयको नाममा वर्षेनी करोडौँ रुपैयाँ विनियोजन गरि बिना टेन्डर विद्यालय व्यवस्थापन समितिबाट खर्च गराएर भवन निर्माणको नाममा लाखौँ रुपैयाँ कमिशन लिने गरेको उजुरकर्ताले दाबी गरेका छन् । त्यस्तै, पटक–पटक एउटै कृषि फार्मको नाममा बजेट विनियोजन गरेर कमिशन लिने गरेको आरोप पौडेलमाथि छ । लिलाराज पौडेल २ वर्षदेखि मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा राज्यको ढुकुटीलाई दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाइएको भन्दै उजुरीकर्ताले सम्पति शुद्धीकरण गर्न माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले कमिशन लिएको र अनियमितता गरेको बारे अख्तियारले सोधेमा जवाफ दिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘सरकारी भवन हाम्रोबाट जाँदैन, मन्थली मावि नमुना विद्यालय भएको हुनाले एकमुष्ट पैसा पठाउँछौं उहाँहरुले नै अडिट गर्नुहुन्छ ।’ सरकारी भवन वडा अध्यक्ष संयोजक हुने उपभोक्ता समितिबाट काम हुने गरेको हुनाले त्यस्ता भवन निर्माणमा आफ्नो संलग्नता नहुने पौडेलको दाबी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्