नेभिगेशन
जीवनयापन

२१ प्रतिशत नेपाली निर्धारित क्यालोरी भन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य

काठमाडौँ– राष्ट्रिय स्तरमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा झन्डै २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्न बाध्य छन् । नेपालमा अझै पनि सात दशमलव आठ प्रतिशत मानिस खाद्य असुरक्षाबाट पीडित छन् । राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनाले विज्ञहरुको सहभागितामा यही भदौ १ र २ गते काठमाडौँमा खाद्य सुरक्षाका विषय आयोजना गरेको कार्यशाला गोष्ठीले खाद्य असुरक्षाका विभिन्न पक्ष केलाएर सरकारलाई सुझाव पेस गरेको छ । कार्यशाला गोष्ठीले खाद्य अधिकार र खाद्य सम्प्रभुताको सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन र खाद्य सम्प्रभुताको सुनिश्चितता गर्नुपर्ने, कृषि क्षेत्रको प्रतिस्पर्धाको क्षमता बढाउँदै कृषिमा युवाको आकर्षण बढाउनुपर्ने र आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता समेत औँल्याएको नेपाली सेनाका सहायक रथी तथा परिषद्का सहायक संयोजक कृष्णराज आचार्यले बताए । विज्ञ सहभागी उक्त छलफलले एकीकृत कृषि कानुन तर्जुमा र कार्यान्वयन तथा अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय र सहकार्यको संरचनागत परिवर्तनको जरुरी रहेको औँल्याइएको छ । कृषिको व्यावसायिकीकरण तथा औद्योगीकरण गर्न, अनुसन्धानमा आधारित कृषि नीति तर्जुमा गर्न, परम्परागत धानबाहेक बालीको उत्पादन तथा उपभोग बढाउन, नेपाल कृषि अनुसन्धान परिषद्ना (नार्क)लाई थप सक्रिय बनाई हाइब्रिड बालीलाई विस्तार गर्न र कृषियोग्य जमिनको खण्डीकरणलाई रोक्ने विषयमा पनि सरकारलाई राय सुझाव दिइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्