नेभिगेशन
जीवनयापन

कांग्रेस नेता प्रदीप गिरिको निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको छ। तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शनिबार राति ९ बजेर ३० मिनेट जाँदा निधन भएको हो। क्यान्सर र निमोनियाबाट उत्पन्न जटिलताका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो। गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो। करिब एक वर्षसम्म गरिएको उपचारबाट पनि सन्तोषजनक नतिजा नआएपछि परिवारले उनलाई नेपाल फर्काएको थियो। साउन ८ गते नेपाल आउनासाथ क्यान्सरकै कारण उत्पन्न विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो। गिरि कांग्रेसभित्रका बौद्धिक नेता र समाजवादी चिन्तकका रुपमा परिचित थिए। १९४७ नोभेम्बरमा जन्मेका गिरि २०१७ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। २०२४ सालमा बनारसमा गठित नेपाल छात्र संघको उपाध्यक्ष भएका गिरि कांग्रेसको १०औं महाधिवेशनपछि केन्द्रीय सदस्य छन्। सिरहालाई राजनीतिक क्षेत्र बनाउँदै आएका गिरि त्यहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा प्रत्यक्षतर्फका सदस्य हुन् । राजाको सक्रिय शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीको पक्षमा सक्रिय हुँदा २०२५ सालमा १८ महिना जेल परेका थिए। २०४२ सालको आन्दोलनका क्रममा पनि उनले जेलजीवन भोगे। राजनीतिक विश्लेषक तथा समाजवादी चिन्तक गिरिका झन्डै दुई दर्जन पुस्तक प्रकाशित छन्। उनले बिपी कोइरालाको सान्निध्यमा रहेर काम गरेका थिए। कांग्रेसजनले मात्र नभएर अन्य राजनीतिक दलका कार्यकर्ताले पनि उनलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याता रूपमा सम्मान गर्छन्। बौद्धिक र गान्धीवादी नेताका रूपमा परिचित गिरि माक्र्सवादका अध्येता र चिन्तक पनि थिए। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका उनी समाजवादी चिन्तकको छवि बनाएका नेता पनि हुन्। मुलुकमा देखा परेका विकृतिविसंगतिप्रति स्पष्ट धारणा राख्ने उनी निर्भीक नेता थिए। सामाजिक सञ्जालहरूमा श्रद्धाञ्जली दिनेहरूले उनको निधनले नेपाली कांग्रेसलाई मात्र नभएर देशलाई नै अपूरणीय क्षति भएको बताएका छन् । शनिबार राति निधन भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन बहादुर विश्वकर्माले शनिबार राति जारी गरेको शोक वक्तव्यमा आइतबार श्रद्धाञ्जली कार्यक्रम सकिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने उल्लेख छ । उनका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ । साढे २ घण्टा पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्