नेभिगेशन
जीवनयापन

पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान छ  : मुख्यमन्त्री पाण्डे

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाली होटल व्यवसायी सङ्घको २०औँ वार्षिक साधारणसभा एवं १२औं अधिवेशनको आज उद्घाटन गर्दै उनले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए । ‘मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ’, उनले भने । नेपालमा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले यसको विकासका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पर्यटनमैत्री प्रदेश निर्माणमा बागमती प्रदेश लागेको बताउँदै पर्यटन ऐनमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले काम गर्ने विश्वास व्यक्त गरे । १० हजार युवालाई स्वदेशमा रोजगारी दिनका लागि आवश्यक पर्ने तालिम प्रदान गर्न प्रदेशले चालू आर्थिक वर्षमा रु १५ करोड बजेट विनियोजन गरेको उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले होटल क्षेत्र व्यवसायमात्र नभई सेवाको क्षेत्र भएकाले व्यवस्थित र मर्यादित ढङ्गले व्यवसाय गर्न आग्रह गरे । ‘व्यवस्थित र मर्यादित ढङ्गले होटल व्यवसाय सञ्चालन गर्दा कसैसँग डराउनुपर्दैन, काठमाडौँ महानगरपालिका होटल व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्छ’, उनले भने । अध्यक्ष तिवारीले काठमाडौँको फोहर व्यवस्थापन गर्न अझै केही समय लाग्ने भन्दै जथाभावी फोहर नफाल्न होटल व्यवसायीलाई आग्रह गरे । टोखा नगरपालिका-९ का वडाध्यक्ष रामभक्त घिमिरेले होटल व्यवसायलाई मर्यादित र कानुनअनुसार सञ्चालन गर्न आग्रह गरे । उनले सबै होटल सङ्घका समस्या साझा भएकाले एउटै होटल सङ्घ बनाएर अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निजी क्षेत्रको लगानी सुरक्षा गर्नका लागि सरकार लाग्नुपर्ने बताए । ‘निजी क्षेत्रको समस्या साझा समस्या हो, निजी क्षेत्रको लगानी सुरक्षामा सरकारले तदारुकता देखाउनु पर्छ’, उनले भने । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बु, जिल्ला होटल व्यवसाय सङ्घ काठमाडौँका कार्यवाहक अध्यक्ष सुरेश बराल, समाज उत्थान महिला मञ्चकी उपाध्यक्ष जानुका नेपाललगायतले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको महत्वपूर्ण क्षेत्र होटल व्यवसायलाई राज्यले महत्व नदिएको गुनासो गरे । नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दिपेन सुवेदी (उमेश) ले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रभित्र पर्ने होटल व्यवसायलाई अझै व्यवस्थित बनाउन सङ्घले कार्य गर्दै आएको बताए । विसं २०५७ मा स्थापना भएको सङ्घका काठमाडौँभित्रका ४०० होटल व्यवसायी आबद्ध रहेको सङ्घका महासचिव गणेश ढकालले जानकारी दिए । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्