नेभिगेशन
जीवनयापन

निर्यातका लागि नयाँ सम्भावनाको खोजी हुनुपर्ने

मोरङ - भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि नेपालले निर्यातजन्य वस्तुको नयाँ सम्भावना खोजी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश-१ समितिले बुधबार विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफल कार्यक्रममा कृषिलगायतका निर्यातजन्य नयाँ वस्तुलाई भारतीय बजारमा पुर्‍याएर व्यापारघाटा कम गर्न सरकारले सम्भावना खोज्नुपर्ने बताइएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सबैभन्दा सम्भावना रहेको नै भारतीय बजार भएको बताए । अहिले भारतसँग ठूलो अन्तरमा व्यापार घाटा बढेको बताउँदै उनले भने, ‘भारतसँगको व्यापारको परनिर्भरता घटाउनका लागि विशेष वस्तुकेन्द्रित नीति आवश्यक छ ।’ उनले भने, ‘अब त नेपालबाट तेस्रो मुलुक निर्यात सोच्न गाह्रो हुने अवस्था आइसकेको छ, अहिलेको समयमा भारत नै सबैभन्दा ठूलो पार्टनर हो, सरकारले भारतलाई नै लक्षित गरेर वस्तु केन्द्रित नीति बनाउनु पर्छ ।’ उनले कृषि क्षेत्रलाई औद्योगिकतर्फ लैजान सकिने र निजी क्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गरे । महासङ्घका केन्द्रीय सदस्य एवं प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट निर्यातका लागि ठोस नीति अघि सार्नुपर्ने सुझाव दिए । मुलुकको व्यापारघाटा कम गर्न सरकारले भारतसँग गर्नुपर्ने जति लबिङ गर्न नसकेको उनको टिप्पणी थियो । ‘बाध्यताले उद्योग चलाउनुपर्ने अवस्था छ, मुलुकको व्यापार प्रवद्र्धनका लागि सोचेअनुसार उपलब्धि हुनसकेको छैन’, उनले भने, ‘सरकारले एकातिर सिमेन्टमा छुट दिन खोजे पनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीलाई आहत पारेको छ ।’ उपाध्यक्ष राउतले अदुवा र फलफूलको निर्यातमा नेपालको सम्भावना धेरै रहेकाले निर्यात वृद्धि गर्न कृषिजन्य उत्पादनको प्रशोधनमा सरकारले सहयोग पुर्‍याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताए । उनले उत्पादन वृद्धिका लागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सबै क्षेत्रबीच समन्वयको खाँचो रहेको बताए । उनले लघु तथा मध्यम तहका उद्योगको संरक्षण आवश्यक रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै