नेभिगेशन
जीवनयापन

माग पूरा नभएसम्म अनसन नतोड्ने निहारिकाको अडान

काठमाडौँ - राष्ट्रपति भवन शितलनिवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ भर्ना गरिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत ‘सोनालीकुमारी सिंह’ ले अनसन तोड्न अस्वीकार गरेकी छन् । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती निहारिकासँग वार्ता गरी अनसन तोडाउने प्रयासमा बुधबार अपराह्न अस्पताल पुगेका थिए । तर, निहारिकाले सरकारसँग गत असार ३ मा भएको सहमतिका बुँदा बाहेक थप माग अघि सारेपछि कानुनमन्त्री शर्मा र महान्यायाधिवक्ता खाती अस्पतालबाट फर्किएका छन् । निहारिकासँग वार्ताको वातावरण बनाउनकै लागि निहारिकाले प्रतिवादी बनाएका शिवराज श्रेष्ठलाई प्रहरीले मंगलबार धनुषाबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट सरकारी टोली निहारिकासँग वार्ता गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो । शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर २०७९ निहारिका जेठ २९ बाट काठमाडौंमा अनशन बसेकी थिइन् । काठमाडौैंको माइतीघर र बसन्तपुरमा अनशन बसेकी उनीसँग असार ३ मा माग पूरा गर्ने प्रतिवद्धतासहित गृहमन्त्री बालकृष्ण खाँणले नै जुस पिलाएर अनसन तोडाएका थिए । बुधबार कानुनमन्त्री श्रेष्ठ र महान्ययाधिवक्ता खातीसँग निहारिकाले आरोपितलाई सहयोग पुग्ने गरी अनुसन्धान गरेको भन्दै आफ्नो जाहेरीको अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्नुपर्ने, शिवराज श्रेष्ठलाई सफाई दिने जिल्ला अदालत धनुषाका तत्कालीन न्यायाधीशमाथि कारबाही गर्नुपर्ने, उच्च अदालत धनुषामा विचाराधीन मुद्दा आगामी पेशीबाटै किनारा लगाउनुपर्ने र शिवराज श्रेष्ठको ततकल डीएनए परीक्षण गर्नुपर्ने लगायतका अरु माग थपेकी छन् । निहारिकाको मागपछि कानुनमन्त्री शर्माले अदालतमा विचाराधीन मुद्दामा सरकारले केही गर्न नसक्ने तर बहसका क्रममा आरोपितको डीएनए परीक्षण गर्न माग गर्ने र सरकारका तर्फबाट भएका सम्झौता पालना गरिने बताएका थिए । तर, निहारिका पछिल्ला मागसमेत पुरा नभएसम्म अनसन नतोड्ने अडान लिएको छलफलमा सहभागी स्रोतले जानकारी दियो । निहारिकाले प्रतिवादी शिवराजविरुद्ध कारबाहीको माग गरेपनि जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको मुद्दाबाट सफाई दिएको थियो । तर, आरोपितलाई सफाई दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराई सर्वोच्च तानिइसकेका छन् । निहारिकाले आफूमाथि २०७६ कात्तिक ६ गते बेलुका धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ स्थित शिवराज श्रेष्ठले कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । घटनाको करीब साढे तीन महिनापछि मात्रै निहारिका आफूमाथि जबर्जस्ती करणी भएको भन्दै २०७६ माघ १९ मा उनले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै