नेभिगेशन
जीवनयापन

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा - झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त संख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए । ‘बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ, तर चिकित्सक दरबन्दीअनुसार नभएका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित छन्’, उनले भने । हल्दिबारी-३ का यादव खतिवडा भन्छन्, ‘बिहानदेखि लाइन बसेको अहिलेसम्म पालो आएको छैन, भीड भएका कारण हरेक ठाउँमा लाइन बस्नुपर्छ । हिजो पनि आएको थिएँ ।’ टाढाबाट आउने बिरामीलाई असहज भएको उनको भनाइ छ । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् । अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताए । ‘सेवा विस्तार भएको छ, तर जनशक्ति अभाव छ ।’ अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै