नेभिगेशन
जीवनयापन

नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष ज्ञवालीले लिए शपथ

काठमाडौँ - नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको साउन २३ गतेको बैठकबाट अध्यक्ष पदमा नियुक्त ज्ञवालीले आज नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमबीच राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । साथै पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए । कार्यक्रममा नवनियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे। उनले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै