नेभिगेशन
जीवनयापन

इलाममा सिसाको पुलसहितको साइकल मार्ग निर्माण गरिंदै

काठमाडौँ - इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकल मार्ग निर्माण हुने भएको छ। नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल मार्ग निर्माणगर्ने भएको हो । सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडेगैरादेखि ऐतिहासिक खलंगा रहेको पूर्णेडाँडासम्म साइकल मार्ग निर्माण हुने बताइएको छ । सुरुमा परियोजनाको कुल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्नेछ । सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ । एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन्। नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवर्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपूरक अनुदानको रु एक करोड लागतमा साइकल मार्ग निर्माण हुनेछ । गत जेठ ११ गते नगरपालिका र नवप्रवर्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए । परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ । साथै, लोपोन्मुख लेप्चाजातिको संग्रहालय स्थापना गरिनेछ । परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै