नेभिगेशन
जीवनयापन

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्पन्न

काठमाडौं– साहित्यिक पत्रकार संघले आइतबार ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव कार्यक्रमको आयोजना गर्‍यो । वि. सं. २०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको लोगो अनावरण गरे । यसअगि कुलपति कर्माचार्यले दीप प्रज्वलन गरेर महोत्सवको शुभारम्भ गरेका थिए । उनले साहित्यिक पत्रकार संघको योगदानको चर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा संघले पुर्‍याएको योगदानको चर्चा गरे । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा आयोजित सो कार्यक्रममा संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठले संघको गतिविधिको चर्चा गर्दै महोत्सवको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष मोहन सिटौला (अमेरिका), निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञहरु माया ठकुरी र डा. बेन्जु शर्मा, साहित्यकारहरु डा. गार्गी शर्मा, भरत जंगम र प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष एवं भाषा आयोगका सदस्य मातृका पोखरेलले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामना वाचन गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु प्राज्ञहरु बाबा बस्नेत र नन्दु उप्रेती, पवन आलोक, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, मोमिला जोशी, विमल भौकाजी, ललिता दोषी, ध्रुव मधिकर्मी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारी, गणेश भण्डारी, मनोज न्यौपाने आदिको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्