नेभिगेशन
जीवनयापन

सिनामंगलको म्यानपावर कम्पनीमा विभागको छापा, पासपोर्ट जफत

काठमाडौं - वैदेशिक रोजगार विभागले काठमाडौंस्थित एक म्यानपावर कम्पनीमा छापा मारी ८७ थान पासपोर्ट जफत गरेको छ । सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले सो म्यानपावरमा छापा मारेको हो । छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि ८७ थाप पासपोर्ट जफत गरेको छ । उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले जानकारी दिएका छन् । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए । उनकाअनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ । ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्क समेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तर्खरमा थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै