नेभिगेशन
जीवनयापन

विद्यालयमा विद्यार्थी काँप्ने, बर्बराउने र बेहोस हुने समस्या

बझाङ– बझाङको बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेका छन् । आइतबार ७ जना छात्राहरू बेहोस भएकोमा सोमबार ७ जना र मङ्गलवार २ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको दुई घण्टा पछि होस् आएको विद्यालयका प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए । उनले भने,‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरू पनि बेहोस हुन थाले ।’ बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्य चौकीमा पुर्‍याएर डाक्टरबाट चेकअप गराएको उनले बताए । बेहोस भएका छात्राहरूमा नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउने जस्ता लक्षणहरू देखा परेका छन् । विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए । उनले भने ,‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेसनमा बस्नुपर्छ । सबै छात्राहरू एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछुट्टै राख्नुपर्छ ।’चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरूमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाई छ । यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्‍याउन उनको सुझाव छ । विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई समेत सहजीकरण गरेका थिए । विद्यालय परिवारले बिरामी परेकाहरूलाई केही दिन बिदामा घर बस्न सुझाव दिएको र विद्यालय बिदा नदिएको बताएको छ । विभिन्न सञ्चार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर भ्रमित समाचार प्रशारण भइरहेकोमा आपत्तिसमेत जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै