नेभिगेशन
जीवनयापन

लागूऔषध उत्पादनको अखडा बन्दै नेपाल: लगानी तस्करको, खेती कृषकको

काठमाडौं –  यही साउन दोस्रो साता प्रहरीले रामेछापका विभिन्न क्षेत्रमा लगाइएको अवैध गाँजा नष्ट गर्‍यो । प्रहरीका अनुसार रामेछापको चोप्राङ, गोगनपानि, खत्रीटोल, रायगाँउ, साउटोल, धारापानी, चुल्ठेपानी, चारघरे चरी, राकाथुम, चपाडी, खनियापानि, भिरकोट, रुपाकोट, बेथान र पानीट्याङ्कीलगायतका स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालका अनुसार विभिन्न स्थानमा अवैध रुपमा लगाइएका करिब ४ हजार ४ सय बोट गाँजा नष्ट गरिएको हो ।  गत फागुनमा प्रहरीले महोत्तरीमा पनि अवैध रुपमा उत्पादन गरिएको गाजा खेती नष्ट गर्‍यो । प्रहरीले जिल्लाको एकडारा गाउँपालिका–३ अजमरपट्टीमा आठ कठ्ठा जग्गामा लगाइएको लागूऔषध गाजा खेती नष्ट गरेको हो । प्रहरीका अनुसार आठ कठ्ठामा लगाइएको करिब ४ हजार १ सय गाजाको बोट फडानी गरी नष्ट गरिएको हो ।  फागुनमै प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङब्रम्दीलगायतका करिब ३ सय रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको थियो ।  यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । प्रहरीले पटकपटक देशका विभिन्न जिल्लाहरुमा गाजा र अफिम नष्ट गर्ने काम गरिरहेको छ । प्रहरी अनुसन्धान अनुसार अहिले नेपालका आधाभन्दा बढी जिल्लामा लागूऔषध गाजा र अफिम उत्पादन हुने गरेको छ ।  ४० जिल्लाको १८ सय बिघा जमिनमा गाँजा र अफिम खेती  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार नेपालका ३४ भन्दा बढी जिल्लामा गाँजा खेती र ७ भन्दा बढी जिल्लामा अफिम खेती हुने गरेको छ । ब्युरोका एसएसपी विकासराज खनालका अनुसार प्रहरीले अघिल्लो आर्थिक वर्षमा मात्र ४० भन्दा बढी जिल्लामा गाँजा र अफिम खेती नष्ट गरेको छ ।  एसएसपी खनाल भन्छन्, ‘अहिले नेपालमा प्रतिबन्धित मानिएको लागूऔषध गाँजा र अफिम खेती भइरहेको छ । लुकिछिपी रुपमा नेपालका करिब ४० जिल्लामा गाँजा खेती भइरहेको हाम्रो अनुसन्धानबाट देखिएको छ । हामीले सूचनाका आधारमा त्यस्तो खेती नष्ट गर्ने गरेका छौं ।’  प्रहरीका अनुसार गत आर्थिक वर्षमा प्रहरीले ४० जिल्लाका १८ बिघा बढी जमिनमा लगाइएको गाँजा र अफिम नष्ट गरेको छ । ब्युरोको तथ्याङ्कअनुसार प्रहरीले पछिल्लो ५ वर्षमा ४ हजार ११९ बिघा जमिनमा गाँजा र ४२१ बिघामा लगाइएको अफिम खेती नष्ट गरको छ । यसरी फस्टायो गाँजा खेती नेपालमा वि.सं. २०३३ सालसम्म नै गाँजा खेतीमा कुनैपनि प्रतिबन्ध लगाइएको थिएन । राष्ट्र संघले सन १९६१ मा पारित गरेको ‘द सिङ्गल कन्भेन्सन अन नार्कोटिक्स ड्रग्स’ नामक सन्धि अनुमोदन गरेपछि नेपालले गाँजा खेतीमा प्रतिबन्ध लगाएको हो । विज्ञहरूका अनुसार सन्धि अनुमोदनपछि नेपालमा बनेको लागूऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजामा पूर्ण प्रतिबन्ध लगाएको हो ।  नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार २०३३ साल देखि गाँजा खेतीमा प्रतिबन्ध लगाएर कडाइ गरेपछि २०४६ सालसम्म चुरेको छेउछाउतिर लुकिछिपी खेती हुन्थ्यो । मल्ल भन्छन्, ‘त्यो समयमा भारतको उत्तरपूर्वी क्षेत्रमा धेरै गाँजा खेती हुन्थ्यो । त्यहाँ आतङ्कवादी गतिविधि बढ्यो ।  प्रशासनको संलग्नताबिना गाँजा खेती सम्भव हुँदैन । यसकारण उत्पादन लागत बढ्न गयो ।’ उनका अनुसार यसपछि नेपालका बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा गाँजा खेती फस्टाउन थालेको हो । यी जिल्लामा प्रशासनिक कडाइ हुन थालेपछि अहिले दुर्गम पहाडी इलाकामा गाँजा खेती हुन थालेको छ ।  पूर्वडिआइजी मल्ल भन्छन्, ‘अहिले नेपालका आधाभन्दा बढी जिल्लामा गाँजा खेती फैलिएको छ । प्रहरीले जति कडाइ गर्छ त्यति नै नयाँ ठाउँमा फस्टाउँदै गएको छ ।’ गाँजा र अफिम खेतीबाट बढी फाइदा हुने भएपछि लुकिछिपी खेती फस्टाएको विश्लेषकहरूको ठहर छ । अनुसन्धान अनुसार नेपालमा हुने गाँजा खेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको छ । उनीहरूले बिउ र प्राविधिक पनि पठाउँछन् । मल्ल पैसाको लोभमा गरिब कृषकहरूले गाँजा र अफिम खेती गर्ने गरेको बताउँछन् । उनीहरूलाई भारतीय तस्करहरूले उक्साउने गरेको उनको बुझाइ छ । प्रहरीका अनुसार खास गरी दुर्गमका किसानहरूले गाँजा खेती गर्ने गरेका छन् । उनीहरूले तस्करबाट खर्च पाउँछन् ।  यसरी नै अहिलेको जस्तै गाजा र अफिम उत्पादन हुदै जाने हो भने नेपाल पनि अफगानिस्तान झैं लागूऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ । हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागूऔषध उत्पादन र वितरण गर्ने सञ्जाल भने देखिएको छैन । तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढीरहेको छ । यो पनि, नेपालमा औषधीजन्य लागूऔषधको प्रयोग बढ्दो, यी हुन् कारोबारका मुख्य ५ हब  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै