बागी उम्मेद्वारलाई कांग्रेस महामन्त्री शर्माको आग्रह : अहिले मुख हेर्ने होइन, रूख हेर्ने समय हो

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रूख चिह्नमा मतदान गर्न आग्रह गरेका हुन् ।

व्यक्ति जो-जो भए पनि रूख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै उनले व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेसलाई मत दिनुपर्नेमा जोड दिए । पार्टीलाई व्यवस्थित बनाउन आफूहरू लागिरहेको उनले उल्लेख गरे ।

‘हामी केही अप्ठ्यारोहरू व्यहोरिरहेका छौं । त्यसकारण देशभरि जो उम्मेदवार बन्नुभएको छ, तपाईंले चाहेबमोजिम बन्नु भएको छ- त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । कतिपय साथीभाइहरुलाई फलानो नबनोस् भन्ने लागिरहेको अवस्थाको कुनै तहमा छ- त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार। मापदण्ड पुर्‍याएर उम्मेदवार चयन भएको छ- त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँ पनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु- देशभरिका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो वेलामा अब मुख हेर्ने होइन, रूख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु,’ उनले भने ।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरूलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरूलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्