स्थानीय निर्वाचन : कुल १ लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरका सबै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार दुई दिन (आइतबार र सोमबार) को मनोनयन अवधिमा यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । महानगर, उपमहानगर र नगरपालिकाको मेयरका लागि ३ हजार २६१ जनाको उम्मेदवारी परेको छ । यस्तै, उपमेयरमा २ हजार ३ जनाले उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षमा ३ हजार २५४ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा २ हजार २९२ उम्मेदवारको मनोनयन दर्ता भएको आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, वडाध्यक्षमा ३२ हजार ५९, महिला सदस्यमा २३ हजार ३ सय ७५, दलित महिला सदस्यमा २१ हजार ११५ र सदस्यमा ४८ हजार ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्