निर्वाचनमा गोकुल बाँस्कोटासँग लड्ने निर्देशक पण्डितको घोषणा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली चलचित्र क्षेत्रमा चर्चामा आइरहने कलाकार तथा निर्देशक हुन् मनोज पण्डित । उनी दासढुंगा, बधशाला लगायतका फिल्मबाट चर्चामा छन् । धेरैजसो फिल्मकै कारण चर्चामा आउने मनोज पछिल्लो समय फरक कारणबाट चर्चामा आएका छन् । उनले सामाजिक सञ्जालमार्फत काभ्रे क्षेत्र नम्बर-२ बाट आफूले उम्मेदवारी दिने बताएका छन् । संघीय संसदको चुनावमा एमाले नेता गोकुल बाँस्कोटाविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा नै गरेका छन् । उनले भ्रष्टाचार गरेर पनि छाती फुलाएर हिँड्ने नेता बाँस्कोटा प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने बताएका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा ७० करोड भ्रष्टाचारको आरोप लागेपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । बाँस्कोटाले ७० करोड घुस मागेको अडियो समेत त्यति बेला सार्वजनिक भएको थियो । निर्देशक पण्डितले उनै विरुद्ध उम्मेदवारी दिने भन्दै लेखेका छन् - घोषणा: ::: "घुस लिन्या र घुस दिन्या सबै देशका शत्रु हुन् " भन्ने दिव्यउपदेश दिने नेपाल राष्ट्रको एकीकरणकर्ता पृथ्वीनारायण शाहको दरबार अगाडि बसेर इतिहासको स्मरण गर्दागर्दैको क्षणमा सामाजिक संजालमा अपलोड भएको माननीय गोकुलप्रसाद बाँस्कोटा को "७० करोड मात्रै हो र .,, ७०अर्ब हान्देको,,, निजी खाइदिएको हो र ? "भन्ने भाषण हेरेपछि म भित्रको संवेदनशील नागरिकले चिच्याउँदै भन्यो "अब त अति भयो " I राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे-२ बाट संसदीय निर्वाचनमा चुनिएर संचार मन्त्रि सम्म भएको हुँदा यिनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरें कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु यो निर्णय लिनुअघि मेरो मस्तिष्कमा केही प्रश्नहरु पनि उठ्यो: कतै यो मेरो चर्चा कमाउने फण्डा मात्र त होइन ? या केही दिनपछि यो निर्णय लाई त्याग गर्ने त होइन ? यस्तो यथार्थको उदाहरण हामीसँग प्रशस्त भएको हुँदा मेरो उम्मेदवारीलाई कसैले किन गम्भिरता पूर्बक लिने? चलचित्र बनाउने मान्छे चलचित्र मार्फत समाजलाई सचेत बनाउने काम गरे त भैहाल्यो ! चलचित्र मार्फत त हालसम्म कोसिस गरिरहेकी हो तर चलचित्र बनाएर हाम्रो राजनीतिक अवस्थामा कुनै ठूलो योगदान पुर्याउन नसकिने रहेछ भन्ने सत्यवोध भइसकेको छ र चर्चा कमाउने लोभमा गरिने फण्डाहरू आफ्नै लागी झन् बढी धातक हुने र त्यसले अस्तित्व नै सदाको लागि नाश गरिदिने नैतिक बोध पनि मसँग छ । वास्तवमा आत्मसम्मान जोगाउनका लागि र आफ्नो अस्तित्व बोधका लागि यो निर्णय लिनुपर्ने आवश्यकता बन्यो । ओलीतन्त्रको दाहिने हातको रुपमा चिनिने ओली प्रवक्ताको कुरालाई बेवास्ता गर्दा पनि हुन्थ्यो तर कहिलेसम्म बेवास्ता गरेर बस्ने भन्ने आत्मप्रश्न उब्जियो ? कतिसम्म लुट हेरेर सहने ? चुपचाप हेरेर लुट्न दिनुपनी अपराध नै हो भन्ने आत्मबोध को आत्मानुभूति भएपछि यो अपत्यारिलो र असम्भव जस्तो निर्णय लिन उत्प्रेरित भए । मलाइ थाहा छ काभ्रे -२ बाट आजको स्थितिमा उनलाई कसैले हराउन सक्दैन । उनीसँग वर्षौंको अनुभव छ भोट प्रभाव पार्न र किन्न सकिने प्रशस्त पैसा छ, मिडिया , रणनीति , सङ्गठन छ तर म संग त्यस्तो कुनै पनि सामर्थ्य र शिल्प छैन । अझ भोटको दृष्टिबाट भन्ने हो भने मसँग केवल ३ भोट छ आफ्नो ,आमाको र दिदीको। मेरो बुबा पनि उनकै समर्थक हुन् सायद मलाई मेरो बुवाको भोट आउने छैन । मसँग केवल पिडा छ, छटपटी छ, आक्रोश छ, सम्वेदना छ, स्वतन्त्र चेत छ अनि परिवर्तनको चाहना छ । म यस्तै सामर्थ्यता को साहारामा उनी विरुद्ध उठदैछु त्यसैले उनलाई म बाट के को डर हुन्छ र ? वास्तवमा उनलाई केहीको र कसैको(ओली बाहेक) डर छैन तर मलाई डर छ । देश आर्थिक रुपले टाट पल्टेला कि भन्ने डर छ,देशको सार्वभौमसत्तामाथि हस्तक्षेप बढ्ला कि भन्ने डर छ, सत्ताको आडमा भ्रष्टाचार अराजकता र अन्यौल झनै बढ्ला कि भन्ने डर छ, महंगी र हिंसाले जीवन अझै कष्टकर बन्छ कि भन्ने डर छ, निरंकुशता ले हरेक नेपालीको स्वतन्त्रतामाथि हतकडी लगाउला कि भन्ने डर छ । त्यही भएर यो देश र जनताको अहितको बिषयमा नडराउनेहरूको विरुद्ध उठ्नुपर्ने मेरो आवश्यकता बन्यो । उठ्नु आफैमा प्रतिक्रियात्मक क्रिया हो जसको अर्थ म त्यस्ता लज्जास्पद र असंवेदनशील भाषण सुनेर ताली बजाउन्न र आनन्द लिन्न भन्ने अभिव्यक्ति हो । अब शासकहरूको दमन, दासत्व , असक्षमता, कुण्ठा बाट अधिकांश नेपाली मुक्त हुनुपर्छ । म त्यही मुक्तिको प्रयत्न हुँ। हालांकि पिडा अति भएपछिको आक्रोश युक्त भावनात्मक निर्णय हो यो तर म यो निर्णयप्रति सधै इमान्दार भएर अबका दिनमा संसदीय चुनाव सम्म एउटा लक्ष्यलाइ हासिल गर्न कटिबद्ध हुन्छु र त्यो लक्ष्य हो " सत्ताको आडमा देश लुट्ने गोकुलप्रसाद बास्कोटा को संसदिय निर्वाचनमा पराजय" | उनको पराजय नै मेरो चुनावको लागि जित हो । उनी यो क्षेत्रका लागी राजनीतिक बाघ हुन् तर म एक सामान्य, स्वतन्त्र र सचेत नागरिक हुँ जो भ्रष्टाचार देखि दिक्क छ , अनैतिक राजनीतिबाट पीडित छ र विकल्पको खोजीमा छ । मैले खोजेको त्यो विकल्पको लागि आफै उठेको मात्र हो र आजको आवश्यक अब हरेक नेपाली आफ्नो पेशामा इमान्दार भईरहेर देशको बिषयमा केही समय विशेष श्रृजनशिल प्रयत्न गर्ने हो ।जसरी युक्रेनी हरु अहिले देशको सार्वभौम जोगाउन युद्धभूमिमा लडिरहेकाका छन् हामीले पनि ठूलो दुश्मन को बिरुद्ध युद्ध लड्नु छ र त्यो शक्तिशाली दुश्मन हामी भित्रको निराशा ,संकुचन, डर ,क्षणिक लाभ को स्वार्थ हो अनि त्यसको प्रतिनिधित्व गर्ने अहिलेको भ्रष्ट राजनीतिज्ञहरू । जब समयले परिवर्तनको आवाज गर्दछ तब हामी जस्तै सामान्य मान्छेहरु सडकमा आफ्ना आफ्नो चेतनाको औजार लिएर शासकका सिंहासन उखेल्न लामबद्ध भएर पाइला बढाउँछौं । मेरो पाइलामा नेपाली राजनीतिको भ्रष्टाचार,अराजकता, असंवेदनशीलता र मालिक प्रवृत्तिबाट दिक्क भएका धेरै सचेत नेपाली नागरिकको पाइला जोडिनेछ र काभ्रे-२ का मतदाताहरुले एक पटक अवस्य सोच्नुहुनेछ "के अब परिवर्तनलाई स्वस्तिक छाप लाउने बेला आएन र ? "
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्