नेपाल बारको अध्यक्षमा घिमिरेको जित सुनिश्चित, औपचारिक घोषणा बाँकी

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - कानुन व्यवसायीहरुको सर्वोच्च संस्था नेपाल बार एशोसिएसनको २६औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदै गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको जित सुनिश्चित देखिएको छ । करिव १५ सय मतगणना बाँकी रहँदै घिमिरेको जित निश्चित भएको हो । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व घिमिरेले गरेका छन् । निर्वाचन समितिका अनुसार बिहीबारसम्मको मत परिणामअनुसार अध्यक्षमा घिमिरेले ३,७२८ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ता अधिकारीले १,९७७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवतर्फ पनि घिमिरेको प्यानलबाट अधिवक्ता अन्जिता खनालको अग्रता कायमै छ । उनले ३,१७५ मत प्राप्त गरेकी छन् भने अधिकारीको प्यानलबाट अधिवक्ता केदार प्रसाद कोइरालाले २,३४५ मत प्राप्त गरेका छन् । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९,७०८ अधिवक्ता मतदाता रहेका थिए । निर्वाचनका क्रममा ७,४२९ मत मात्र खसेको थियो । मतगणना जारी छ । परिणाम अनुसार कार्यसमितिका अन्य पदमा पनि घिमिरे नेतृत्वको प्यानलकै अग्रता देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्