निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आज (शुक्रबारं मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्न समेत रोक लगाउँछ ।

आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिन समेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमति बेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जान समेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

उम्मेदवारले ‘ए ४’ आकारको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न मिल्छ । निर्वाचन प्रचारप्रसारको काम पनि बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । भित्तेलेखन गर्न, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सवारीसाधन प्रयोग गर्नसमेत आचारसंहिताले रोक लगाएको छ । प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोगमा भने रोक लगाइएको छैन । तर प्रचारप्रसारका लागि दलका दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने संहितामा उल्लेख छ ।

यसैबीच, निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई खटाएको छ । निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

एमालेको असहमति प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन आचारसंहिताका केही प्रावधान संविधान र कानुनसँग बाझिएको दाबी गर्दै लिखित असहमति राखेको छ । एमाले महासचिव शंकर पोखरेलले संविधान र कानुनसँग बाझिएबाहेकका विषय मात्रै मान्ने भन्दै निर्वाचन आयोगमा बिहीबार पत्र बुझाएका छन् ।

मतपत्रमा चुनाव चिह्नको रङ हरियो राखिएकामा र मनोनयन दर्ताका लागि दुई दिन समय दिइएकामा एमालेको आपत्ति छ । विद्युतीय सामग्री उत्पादन र सामाजिक सञ्जालमा राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफ्नो दलको पक्षमा मत माग्न र प्रचार गर्न निषेध गरेको भन्दै पनि एमालेले आपत्ति जनाएको छ । एमालेले बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानको पनि विरोध गर्दै आएको छ ।

स्थानीय तहको निर्वाचनबारे प्रस्ट पार्न पत्रकार सम्मेलन गर्दै आयोग आसन्न स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म भएका काम र आचारसंहितालगायत विषयमा जानकारी दिन निर्वाचन आयोगले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछ ।

आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनको आचारसंहिता, निर्वाचन तयारी, मतपत्र छपाइ र अहिलेसम्म भएका कामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

बिहीबारै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि निर्वाचन आयोग पुगेर मतदान प्रक्रियामा सहभागी हुन चाहेको बताएका छन् । निर्वाचन सर्छ कि भन्ने चर्चा पनि चलिरहेको बेला आयोगले सबै आयुक्तसहित पत्रकार सम्मेलन राखेर जानकारी दिन लागेको हो ।

‘आज हाम्रा सबै आयुक्तसहित पत्रकार सम्मेलन गर्दै छौं, अहिलेसम्मको काम, बाहिर उठेका चर्चा, आचारसंहितालगायत विषयमा हामी प्रस्ट पार्छौं’, प्रमुख आयुक्त थपलियाले भने । एकै चरणमा ७५३ वटै स्थानीय तहमा आगामी वैशाख ३० गते निर्वाचन गरिँदै छ । निर्वाचन आउन अब ३४ दिन मात्र बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्