एमसीसीमा असन्तुष्ट नेतालाई समेट्ने माधव नेपालको प्रतिवेदन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको प्रतिवेदन पेस गरेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार पोलिटब्यूरोले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । उनले भने, ‘२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । नीति तय गर्नेछ । पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ । तिनै विषयमा छलफल हुनेछ ।

सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ । नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ । त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा यसलाई लगिनेछ । अब हामी मुलरुपमा आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रिकृत गर्ने गरी लाग्नेछौँ ।’

एमसीसीलाई संसदबाट अनुमोदनपश्चात सम्मानित नेता झलनाथ खनालसहितका नेताको असन्तुष्टि समाधानका लागि नेपालको प्रतिवेदनमा समेटिएको छ ।

‘पार्टी राजनीतिमा उत्पन्न भएका विभिन्न प्रकारका तरंगहरुलाई विश्लेषणात्मक ढंगले व्याख्या गरेर सुनाउने र कार्यकर्तालाई एकताबद्ध भएर हिँडाउनका निम्ति प्रयास गर्ने, यो कुरा त्यसमा परेको छ । यसैगरी स्थानीय तहको निर्वाचनमा सशक्त ढंगले पार्टीलाई अगाडि बढाउनको निम्ति कार्यकर्ताहरूले अत्यन्तै छोटो समयमा आफ्ना संगठनात्मक कामहरू व्यवस्थित गरिसक्नुपर्ने भन्ने निर्देशन त्यसमा छ । अबको सम्पूर्ण समय स्थानीय तह निर्वाचनकै लागि हो ।’

प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकताबद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार