गण्डकीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस फेरि अदालत जाने

आइतबार, वैशाख २३, २०८१

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरूद्ध नेपाली कांग्रेस पुनः अदालत जाने भएको छ ।

पत्रकार सम्मेलन गर्दै कांग्रेस गण्डकीले सभामुखको असवैधानिक र असंसदीय कदम चालेको भन्दै पुनः अदालत जाने बताएका हुन् ।

 

आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो । त्यही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

 

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

 

नेपाली काँग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक काम गरेको बताएका छन् ।

‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा। सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा। खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्