यसकारण उभिए प्रचण्ड एमसीसीको विपक्षमा 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) यथास्थितिमा अनुमोदन गर्न नहुने अडानमा छन् । यस अडानलाई आफ्नो पार्टीको बैठकबाट समेत अनुमोदन गराइसकेका छन् । 

एमसीसी सम्झौताबाट प्राप्त हुने अनुदान गुमाउन नचाहने प्रचण्ड अनुमोदन गराउनबाट भने पछि हटेका हुन् । हालै बसेको पार्टीको बैठकमा प्रचण्डले एमसीसी सम्झौता संशोधनविना अनुमोदन गराउन नहुने आफ्ना नेता तथा सांसदहरूलाई जानकारी गराए । 

एमसीसी अनुमोदनको विषयले सत्तारुढ गठबन्धन र गठबन्धनको सरकार नै संकटमा परेको छ । तर, प्रचण्ड गठबन्धन र सरकार जोगाउनुभन्दा एमसीसीको विपक्षमा उभिनु आफ्नो र माओवादी केन्द्रका लागि हितकर रहेको नेताहरूलाई बताएका छन् । 

स्थानीय तहको निर्वाचनको मितिसमेत घोषणा गरिसकेको राजनीतिक अवस्थामा आफू र आफ्नो पार्टीको राजनीतिक भविष्य सुरक्षित गर्नु अहिले प्रचण्डको प्राथमिकताको विषय बनेको हो । एमसीसीको पक्षमा उभिए जनमत गुम्ने प्रचण्डको त्रास छ । 

आगामी निर्वाचनमा अन्य दलसँग चुनावी तालमेल हुन सक्ने सम्भावना कम रहेको निष्कर्षमा पुगेका प्रचण्ड एकल रुपमा चुनावमा जानुपर्ने अवस्थामा एमसीसीको पक्षमा उभिए जनमत गुम्ने अनुमानमा छन् । 

हालै बसेको पार्टीको बैठकमा उनले आफूसहित माओवादी केन्द्र अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएको बताएका छन् । उनले देशभित्रै राजनीतिक शक्तिबाट पनि एक्लिँदै गएकाले अब जनतामाझ जान उनीहरूका एजेण्डा छाड्न नहुने नेता तथा सांसदलाई बताएका छन् । जसकारण जनतामाझ जान पनि एमसीसीको विपक्षमा उभिनुपर्नेमा प्रचण्डको जोड छ । 

प्रचण्डले सत्तासाझेदार दलका नेतासँग पनि निर्वाचनपछि एमसीसी अनुमोदन गर्ने गरी अघि बढ्न प्रस्ताव गरेका थिए । तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही फागुन १६ गतेभित्र अनुमोदन गराइसक्नुपर्ने जिकीर गरे । जसकारण प्रचण्ड जनमत गुम्न नदिने गरी एमसीसीको विपक्षमा उभिएका हुन् । 

‘म र पार्टी अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएका छौँ । देशभित्र राजनीतिक दलबाट पनि एक्लिएका छौँ । यस अवस्थामा हामी जनतामाझ जानुपर्छ । अहिले आमनागरिक एमसीसीको विपक्षमा छन् । यसकारण हामी पनि एमसीसीको विपक्षमा उभिएर जनतामाझ जानुपर्छ,’ माओवादी बैठकमा प्रचण्ड दिएको अभिव्यक्ति उद्धृत गर्दै एक नेताले भने। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार