के बर्षमान पुन माओवादीको महासचिव बन्दैछन् ?  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । सो बैठकमा प्रचण्डले पदाधिकारी छान्ने बताइएको छ । 

गएको पार्टीको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनका लागि बर्षमान पुनलाई कुरिरहेको थियो । तर नेता पुन स्वदेश फर्किएपछि  माओवादीले पदाधिकारी चयनका लागि बैठक बोलाएको हो । 

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । तर अहिले माओवादीमा महासचिव को बन्ला भन्ने चासो बढी देखिएको छ । 

महासचिवका दाबेदारमा बर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा, कृष्णबहादुर महरा र पम्फा भुसाल छन् । तर महासचिवमा पुन र जनार्दनमा एक जनालाई रोन्जे पक्षमा प्रचण्ड रहेको चर्चा हुन थालेको छ । पुन र जनार्दनले आफूलाई सहमतिमै महासचिव बनाउनुपर्ने बताउदै आएका छन् । यसो नभए प्रतिस्पर्धा गर्ने पक्षमा यी दुई छन् । 

आफ्नो स्वास्थ्य उपचारपछि चीन फर्किए लगत्तै नेता पुन प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । आफुलाई भेट गर्न आएका पुनलाई प्रचण्डले खुशीसाथ स्वागत गरेका थिए । स्वदेश फर्कदै गर्दा पनि पुन निकै खुशी देखिन्थे । 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको बताएका थिए । उनले भनेका थिए सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।

यो सबै हेर्दा पुन प्रचण्डसँग धेरै नजिक भएको देखिन्छ । नजिक भएको कारण र यसअघि सचिव भइसकेकाले पनि पुन नै महासचिव बन्ने सम्भावना देखिन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्