नेभिगेशन
राजनीति

हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान यथावत राख्ने सहमति

काठमाडौँ- संसदीय समितिले हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान यथावत राख्ने सहमति जुटेको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले यस्तो सहमति जुटाएको हो ।

प्रचलित भूमि सम्बन्धी ऐनको दफा १२ छ मा स्वीकृत गराउनु पर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ ‘हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमतिप्राप्त गर्नुअघि कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था, आयोजना वा संघ संस्थाले जग्गा उपयोग सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ ।’

यो व्यवस्थालाई हटाएर सरकारले यही दफामा घर जग्गा व्यवसायको जग्गा बिक्री सम्बन्धी व्यवस्था राख्ने गरी केही नेपाल ऐन संशोधन विधेयक ल्याएको छ ।

साबिकको व्यवस्था हटाउँदा हदबन्दी छुटको जग्गा राख्न डीपीआर र इआईए गर्नुपर्ने प्रावधान हट्ने भनेर सांसदहरूले विरोध गरे । साबिकको व्यवस्था यथावत राख्नुपर्ने संशोधन प्रस्ताव पनि राखेका थिए ।

बिहीबार समितिको बैठकले साबिकको व्यवस्था कायमै राख्ने र सरकारले ल्याएको प्रस्तावलाई दफा १२ छ पछि १२ ज बनाएर राख्ने गरी सहमति जुटाएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति