नेभिगेशन
राजनीति

उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन राप्रपाको निर्देशन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । 

पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुने उनले बताए।

त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममुखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

त्यस्तै बैठकले असोजका मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भाद्रको दोस्रो साता बस्ने श्रेष्ठले उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति