नेभिगेशन
राजनीति

देउवाले भने- नीति तथा कार्यक्रम र बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्ने गरी ल्याउनुपर्ने बताएका छन् ।

अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ सभापति देउवाले भने ।

श्रमिकलाई अधिकार दिलाउनका लागि आफ्नो पार्टी सधैँ अग्रस्थानमा रहेको उनले जिकिर गरे ।

‘हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली काँग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैँ अग्रस्थानमा छ,’ सभापति देउवाले भने, ‘नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको छ । श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली काँग्रेसकै सरकार भएको बेलामा आएका हुन् ।’

सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास आफूले लिएको देउवाको भनाइ छ ।

‘स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमै रहेन र स्वदेशमै ज्ञान सिप वृद्धिको विकास लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा गर्नु छ,’ देउवाले सम्बोधनको क्रममा भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति