गण्डकी प्रदेश सरकारविरुद्ध  कांग्रेस अदालत जाने

बुधबार, वैशाख २६, २०८१

गण्डकी - नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ।

बुधबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय जाने निर्णय गरेको हो।

संविधानविपरीतका गतिबिधि सच्याउन कांग्रेसको भुमिका आवश्यक रहेकाले कानुनी उपचारमा जाने निष्कर्ष निकालिएको पार्टी उपसभापति धनराज गुरुङको भनाइ  छ।

‘गण्डकी प्रदेश सरकार गठनको क्रममा अन्याय भएको छ, न्याय खोज्नेछौँ । संविधान मिचिएको छ, संविधान मिच्न हुन्न भनेर अगाडि बढ्ने छौँ, असंबैधानिक कदम चालेकोप्रति हामी गम्भिर छौँ । न्याय खोज्न न्यायलय जानेबारे बैठकमा गम्भिर छलफल भयो,’ बैठकपछि गुरुङले भने।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा विवादमा छ। उक्त घोषणाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्