संसदको बजेट अधिवेशनमा सकस

सहकारी ठगी प्रकरणमा कांग्रेसको एउटै अडान, गृहमन्त्रीको अन्तिम ‘अस्त्र’माथि पनि प्रश्न

बुधबार, वैशाख २६, २०८१

काठमाडौं– बजेट अधिवेशन आह्वानका सन्दर्भमा मुख्य विपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक केही लामो बनाएर रणनीतिबारे निचोड निकाल्ने भएको छ। 

सो क्रममा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नै पर्ने अडानसहित देशैभरीका सहकारी ठगीबारे अनुसन्धानको विषयमा बैठक केन्द्रित रहनेछ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भन्छन्,‘गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि त्यस अडानबाट हामी पर पुग्नेवाला छैनौं। तर, यस पटक सबै सांसदका विचार सुनिनेगरी बैठक राख्ने तयारी पनि भएको छ।’

सभामुख देवराज घिमिरेले मंगलबार सर्वदलीय बैठक डाकी सदनको अवरोध खोल्ने विषयमा राय बुझेका थिए। त्यो बैठकमा कुनै पनि सहमति हुन नसक्नुको एउटा कारण कांग्रेसको अडान पनि रहेको थियो। 

कांग्रेसले विहीबार पत्रकारसँगको संवादका क्रममा अबको अडानको विषय, बजेट अधिवेशन सञ्चालन निर्वाध गर्ने काममा संसदीय समिति गठन नै बेजोड मुद्दा बन्ने जनाएको थियो। 

फेरि सहकारी ठगी प्रकरणमा सर्वदलीय बैठकमा गृहमन्त्री लामिछानेले पेस गरेको महान्यायाधीवक्ताको कार्यालयको पत्रबारे पनि प्रश्न उठेको छ।

सहकारी प्रकरणमा मुछिएका रवि लामिछाने गृहमन्त्री होइनन् भन्ने हिसाबले पत्र आएपछि सत्ताको दबाब र प्रभाव पारिएको भनी प्रश्न उठेको छ।

कांग्रेसका नजरमा सदनमा र जनताका नजरमा चोखिनका लागि गृहमन्त्री लामिछानेले यो पत्र ल्याएका थिए। ‘पत्रले सबै कुरा छर्लङ्ग पारिसकेको छ। अब मैले सदनमा बोल्न पाउनुपर्छ’, गृहमन्त्री लामिछानेले भनेका छन्,‘एउटा उजुरीका भरमा समिति बनाउँदै जाने हो भने त त्यहि सहमति पनि हुनुपर्छ।’

स्वयम् गृहमन्त्री लामिछानेको भनाईको आधार नै प्रश्नको घेरामा रहेको कांग्रेसको बुझाई छ। एक नेता भन्छन्,‘पहिला आफू क्लियर हुनुपर्छ। प्रश्नको घेराबाट निस्कनका लागि जीबी राई नामका सहकारी ठगीका मुख्य नाइके पनि समातेर ल्याउनुपर्छ।’

यहि प्रकरणले बजेट अधिवेशन प्रभावित हुने सम्भावना रहेको छ। शुक्रबार बिहानसम्म एउटा निचोड ननिस्किएको खण्डमा भने कांग्रेसले समिति गठन बटमलाइन नै बनाउने पक्कापक्की छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गण्डकी प्रदेशका नेता कार्यकर्तालाई भेट्दा समिति गठन नगरी कांग्रेस अगाडि बढ्ने कुरामा राजी नहुने बताइसकेका थिए। उनले भनेका थिए,‘यत्रा सहकारी पीडितको रकम ठगीएको छ, अर्बौं घोटाला भएको छ। जो भए पनि छानबिन समिति बन्नुपर्छ, अनिमात्र अगाडि बढ्न सकिन्छ।’

सभापति देउवाको नै यो हिसाबको स्टेटमेन्टले स्पष्ट पार्छ– कांग्रेस ब्याक हुने सम्भावना कम छ। किनभने, यसअघिको संसदीय दलको बैठकले छानबिन समिति बन्नुपर्ने बटमलाइन पनि अनुमोदन गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्